काठमाडौं। नेपालमा लोकप्रिय रहेको वाइवाइको युरोपेली मुलुक सर्वियाबाट पनि उत्पादन सुरु भएको छ। सर्वियामा रहेको वाइवाइको प्लान्ट बिहीवारदेखि औपचारिक रुपमा संचालनमा आएको छ।

प्लान्टको सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले उद्घाटन गरे। राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा सिजीकर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थिती रहेको थियो। अध्यक्ष चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको बताउँदै वाइवाइको विश्वब्यापीकरण अभियानमा कोशेढुंगा सावित हुने दाबी गरे। सर्वियामा उत्पादन भएको वाइवाइ यूरोपभरि बिक्री हुने उनले बताए।
कच्चा पदार्थ र दक्ष जनशक्तिको उपलव्धता एवं उत्पादनको लागत मूल्य लगायतको विश्लेषणका आधारमा उनले सर्विया आफ्नो समूहका लागि युरोप प्रवेशको रणनीतिक केन्द्र बनेको बताए। यो प्लान्टमा चार सय सर्वियालीले रोजगारी पाएका छन्। प्लान्टको उच्च व्यवस्थापनमा नेपाली रहेको समूहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले रुमाबाट एक हजार किलोमिटरको दुरी भित्रै युरोपका थुप्रै ठूला बजारहरु रहेकोले यूरोपेली बजारमा वाइवाइको सहज प्रवेश हुने बताए। गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट उत्पादन थालेको थियो।
No comments:
Post a Comment